झापा-अवैध रूपमा बसेका विदेशी कामदारलाई दुई महिनाभित्र स्वदेश फर्कन युएई सरकारले म्याद दिएको छ । स्वदेश फर्कने वा वैधानिक हुने दुई बाटो मध्ये एउटा तय गर्न सरकारले दुई महिनाको म्याद दिएको हो ।
सेप्टेम्बर १ देखि अक्टोबर ३० तारिखसम्म लागू हुने गरी युएई सरकारले यस्तो आदेश जारी गरेको अबुधाबी स्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार कैयौँ नेपाली श्रमिक पनि अवैध रुपमा बसेका छन् ।
नेपाली दूतावासका प्रवक्ता विशाल भट्टराईले लुकीछिपी अवैध रुपमा बसिरहेका कामदारसहित विदेशी नागरिकलाई वैधानिक हुन युएई सरकारले अवसर दिएको बताए ।
दूतावासको अनुमानका आधारमा भन्ने हो भने युएइमा १ लाखभन्दा बढी नेपाली अवैध रुपमा बसिरहेका छन् । तीमध्ये ४० हजारभन्दा बढी महिला कामदार हुनसक्ने दुतावासको अनुमान छ ।