बिर्तामोड-दुवै मृगौला ड्यामेज भएका झापाको मेचीनगर -४ बाहुनडाँगीका भक्तबहादुर भारतीले उपचार सहयोगका लागि अपिल गरेका छन् । भारतीले जीवन रक्षाका लागि देशविदेशमा रहेका नेपालीसँग सहयोगको अपिल गरेका हुन् ।
दुवै मृगौला खराब भएपछि ४० वर्षीय भारतीको सबै धनसम्पत्ति उपचार गर्दागर्दै सकिएको छ । हाल उनी झापाको अर्जुनधारा-४ स्थित समावेशी टोलको एउटा घरमा आश्रय लिएर परिवारसहित बस्दै आएका छन् ।
२०८० पुसमा प्रेसरले हानेपछि धुलाबारी स्थित आम्दा अस्पतालमा प्रारम्भिक परीक्षण गरेका भारतीले हाल बिएण्डसी अस्पतालमा सातामा दुईपटक डायलोसिस गर्दै आएका छन् । मासिक २० हजार खर्च हुने उनले बताए ।
कमजोर आर्थिक अवस्था भएका कारण श्रीमानको उपचार खर्च जुटाउन आफूले भएको ७ कट्ठा जग्गा र घर बेचेको भारतीकी श्रीमती गीता गिरीले बताइन् । उनीहरूका १७ वर्षीय छोरी आयुष्मा र १५ वर्षीय छोरा आयुष छन् ।
भारती बन्धु एकता समाज नेपालका केन्द्रीय अध्यक्ष उमेश भारती सबैले सहयोग गरिदिए उनको जीवन रक्षा हुने बताउँछन् । उनलाई सहयोग गर्न चाहनेले भक्तबहादुर भारतीको नाममा रहेको नेपाल बैंक लि. खाता नं. ०५५०१००७६४०४४००००००१ मा सहयोग गर्न सकिनेछ ।