झापा-घुमुवा प्रहरी राखेर तस्करसँग साँठगाँठ गरेको आरोप लागेका मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की प्रहरी प्रधान कार्यालय तानिएका छन् ।
चाेरी तस्करीमा संलग्नसँग लाइन मिलाएर घुमुवा प्रहरीमार्फत असुली गरेको आरोप लागेपछि एसपी कार्कीलाई प्रहरी प्रधान कार्यालयले काठमाडौँ बोलाएको हो ।
सादा पोशाकका प्रहरी सीमावर्ती क्षेत्रमा खटाउन नपाउने नियम उल्लङ्घन गर्दै एसपी कार्कीले तस्करसँग मोटो रकम उठाउने गरेको आरोप लागेको थियो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी दानबहादुर कार्कीले एसपी कार्कीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको बताए ।
एसपी कार्कीलाई काठमाडौँ झिकाइएपछि मोरङ प्रहरी प्रमुखको जिम्मेवारी राजन लिम्बुलाई दिइएको छ ।