१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

परराष्ट्रमा पर्याप्त बजेट विनियोजन हुनुपर्छ : एमाले सचेतक बराल




काठमाडौँ– नेकपा एमाले संसदीय दलकी सचेतक सुनिता बरालले प्रभावकारी आर्थिक कूटनीति प्रवर्द्धन गर्नका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्ने बताएकी छन् ।

प्रतिनिधि सभामा परराष्ट्र र गृह मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को विनियोजित बजेटको छलफलमा सचेतक बरालले नेपालमा सरोकारवाला निकायबीच हदैसम्मको समन्वयमार्फत मुलुकको सामर्थ्य र लक्ष्यअनुरुपका आर्थिक कूटनीति लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएकी हुन् ।

बरालले आर्थिक कूटनीतिलाई समृद्धिमा जोड्नुपर्ने बताइन् । उनले परराष्ट्र मन्त्रालयमा रहेका जनशक्तिको क्षमता अभिवृद्धि र उपलब्ध श्रोतसाधनलाई सक्षम र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।

उनले तीन सयभन्दा कम संख्यामा रहेको परराष्ट्र मन्त्रालयको जनशक्ति र श्रोतसाधनमा पर्याप्त लगानी गरी नेपालको कूटनीतिक सामर्थ्य विकास गर्नुपर्ने प्रष्ट पारिन् ।

‘नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा सामर्थ्यवान मुलुकलाई समेत राष्ट्र र राष्ट्रिय हितका लागि चुनौती दिनसक्ने यथार्थपरक सम्भावना कूटनीतिक क्षेत्रमा नै रहन्छ । ती मुलुकसँग आर्थिक र सैन्य हिसाबले हामी प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनौं,’ उनले भनिन् ।

सचेतक बरालले नेपाल र नेपालीको हकहित रक्षाको पहिलो र अन्तिम संयन्त्र भएको हुँदा यसका लागि पर्याप्त तालिम र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन् ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार ००:००  ७ : २४ बजे