८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

कोशी प्रदेश : सरकारमा जाने भाका सार्दै कांग्रेस



मोरङ-आन्तरिक भागभण्डा मिलाउन नसकेपछि कोशी प्रदेशमा कांग्रेसको सत्ता सहयात्रा अझै अनिश्चित बनेको छ । नेकपा एमालेसँग साउन १२ मा भएको सहमतिपछि एक दुई दिनभित्रै कांग्रेस सरकारमा सहभागी हुने अनुमान गरिएको थियो ।

दुई ठूला दल मिलेर सरकार बनाउने नीति लिएपछि कोशी प्रदेशमा केन्द्रीय सहमति अनुरुपकै सत्ता गठबन्धन बन्ने अपेक्षा गरिए पनि अझैसम्म कांग्रेस सरकारमा गएको छैन ।

आन्तरिक भागबण्डा मिलाउन कांग्रेसले मन्त्रालयको सङ्ख्या थप गर्ने प्रस्ताव गरेपनि त्यसमा दुई दलबीच आपसी सहमति कायम हुन सकेको छैन । काङ्ग्रेसले निरन्तर सरकारमा जाने भाका सारिरहेको एमाले नेताहरु बताउँछन् ।

काङ्ग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकारमा जान ढिलाई भएपनि अब छिट्टै त्यसको टुङ्गो लाग्ने प्रतिक्रिया दिएका छन् । नेता थापाकै शब्दमा ‘भदौ १६ गते बस्ने पार्टी केन्द्रीय समितिको बैठकपछि कोशी सरकारमा कांग्रेस सहभागी हुनेछ ।’

सरकारमा सहभागी नभए पनि काङ्ग्रेस सत्तापक्षको कुर्सीमा बस्ने निष्कर्षमा पुगेको छ । व्यवहारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले संसदभित्र सत्तापक्षको कुर्सीमा बस्ने जानकारी दिएको हो ।

संसद सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले कांग्रेसले सत्ता पक्षको कुर्सीमा बस्ने जानकारी गराएको बताए । नेकपा माओवादी केन्द्रले प्रतिपक्षमा बस्ने जानकारी गराएको छ ।

सरकारलाई समर्थन गरेका कारण शुक्रबारको बैठकमा कांग्रेस सत्तापक्षको कुर्सीमा बस्ने संसदीय दलका नेता थापाले जानकारी दिए ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार ००:००  १० : २३ बजे