झापा– नेपाल पत्रकार महासङ्घ झापाको अध्यक्षमा एकराज गिरी निर्वाचित भएका छन् । पूर्वाञ्चल दैनिकका सम्पादक समेत रहेका गिरी दोस्रो कार्यकालका लागि महासङ्घको अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षका अन्य तीन प्रत्यासीलाई पछाडि पार्दै गिरीले १३१ मत प्राप्त गरेका छन् । उनका प्रत्यासी डिकेश लामाले ३४, राजेन्द्र गौतमले ३५ र टीकाराम नेतिले चार मत प्राप्त गरेका छन् ।
नेपाल प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानल निर्माण भएपछि प्रेस सेन्टरले लामाको नेतृत्वमा समाजवादी प्रेस संगठन, फाेनिज लगायतलाई समेटेर उम्मेदवारी दिएको थियो ।
व्यावसायिक पत्रकारको बाहुल्य रहेको प्रेस चौतारीले पत्रकार सुब्रत न्यौपानेको नेतृत्वमा आफ्नो टीम महासङ्घमा पठाएको छ । न्यौपाने २४ वर्षदेखि झापाको पत्रकारितामा क्रियाशील छन् ।
अन्नपूर्ण मिडिया नेटवर्कमा आबद्ध पत्रकार सुब्रत न्यौपाने उपाध्यक्षमा निर्वाचित भएका हुन् । स्पीक कर्नर र विवेचना दैनिकका सम्पादक समेत रहेका न्यौपानेले १२२ मत प्राप्त गरेका छन् ।
फाेनिजबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका न्यौपानेका प्रतिस्पर्धी कान्तिपुर टेलिभिजनकर्मी गणेशमान मुखियाले ८१ मत प्राप्त गरेका छन् । टेलिभिजन पत्रकारिताका अब्बल मुखियालाई प्रेस सेन्टरले समेत समर्थन गरेको थियो ।
महासङ्घको महिला उपाध्यक्षमा विनिता गौतम १०६ मतका साथ विजयी भएकी छन् । यसैपटक सदस्यता प्राप्त गरेकी गौतमले प्रतिस्पर्धी सुशीला संग्रौलालाई हराएकी हुन् । संग्रौलाले ८९ मत प्राप्त गरेकी छन् ।
संग्रौला यसअघि पनि महासङ्घको उपाध्यक्ष थिइन् । सचिवमा पत्रकार प्रदीप परियार र राजु पाठकले समान ९९ मत प्राप्त गरेका छन् । इजलास दैनिकका सम्पादक परियार मेची खबर साप्ताहिकका सम्पादक पाठकबीच समान मत प्राप्त गरेकाले आधा-आधा कार्यकाल सचिवको भूमिका निर्वाह गर्ने आन्तरिक सहमति भएको छ ।
खुला सहसचिवमा रमेश तिवारी निर्विरोध निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नरेन्द्र ढकालले उम्मेद्वारी फिर्ता लिएपछि तिवारी निर्विरोध भएका हुन् ।
समावेशीतर्फको सहसचिवमा तिलक योञ्जन विजयी भएका छन् । योञ्जनले १११ मत प्राप्त गरिरहँदा उनका प्रतिस्पर्धी पत्रकार चिरञ्जीवी घिमिरेले ८३ मत प्राप्त गरे ।
कोषाध्यक्षमा मुक्तिनाथ पौडेल ९९ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी पुष्पलाल खड्काले ५४ र शम्भुजित दाहालले ४६ मत प्राप्त गरे ।
महासङ्घको २० सदस्यीय कार्यसमितिको सदस्यमा सन्तोष शर्मा, इन्द्रकुमार राई, अस्मिता साँखी, ईशा प्रधान, स्वस्तिका आचार्य, विनोद पाण्डे, सुदीप अधिकारी, द्रोण अधिकारी, दीपेश राजवंशी, देवेन्द्र प्रसाई र भूमिराज पराजुली निर्वाचित भएका छन् ।
पत्रकार महासङ्घ झापामा २२० सदस्य रहेकोमा २०५ जनाले मतदान गरेका थिए । झापाबाट राष्ट्रिय परिषद् सदस्यमा लीला अनमोल र विशाल नेम्वाङ निर्विरोध निर्वाचित भए । त्यसैगरी विष्णु सुब्बा र अर्जुन कार्की पनि परिषद् सदस्यमा निर्वाचित भएका छन् ।