सतासीधाम-नगर गौरव आयोजनाका रूपमा झापाको शिवसताक्षी नगरपालिकाले दुधेमा रंगशाला निर्माण गरिरहेको छ । जनसहभागिता समेतका आधारमा रंगशाला निर्माणको काम अघि बढाइएको हो ।
अहिले रङ्गशालामा मञ्च र चेन्जिङ रूमको निर्माण कार्य भइरहेको छ । चार वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी काम अगाडि बढेको नगर प्रमुख मेगाहाङ थोप्राले बताए ।
अघिल्लो आर्थिक वर्षमा प्याराफिटसहित मञ्च र चेन्जिङ रूम निर्माणका लागि १ करोड १० लाख बजेट विनियोजन भएको थियो । प्याराफिट सहितको संरचना निर्माण भइसकेको नगरप्रमुख थोपाले बताए ।
चालु आर्थिक वर्षमा नगरपालिकाबाट ५० लाख बजेट विनियोजन भएको छ । उक्त बजेटबाट ट्रस्टको छानो लगाउने र शौचालय निर्माण गर्ने योजना बनाइएको छ ।
नगर प्रमुख थोप्राका अनुसार यसवर्ष खेलमैदान र प्याराफिटको काम सम्पन्न गरेर आगामी वर्षदेखि खेल सञ्चालन गरिनेछ । निर्माण कार्य पूरा भएपछि एकैपटक २५ हजार दर्शकले खेल हेर्न पाउनेछन् ।
उपप्रमुख नरमाया कार्कीले गुणस्तरीय निर्माण कार्यका लागि समयसमयमा अनुगमन गरिँदै आएको बताइन् । रङ्गशालामा कम्पाउन्डको काम सकिएको छ ।