२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

धानको उत्पादन घट्ने सरकारी अनुमान : वर्षाले गरेको क्षति मुख्य कारण



झापा-सरकारी अधिकारीहरूले यसवर्ष धानको उत्पादन घट्ने अनुमान गरेका छन् । असोज दोस्रो साता आएको वर्षाका कारण धानबालीमा प्रत्यक्ष रुपमा क्षति पुगेकाले सरकारी अधिकारीले उत्पादन घट्ने प्रारम्भिक अनुमान गरेका हुन् ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले वर्षापछि आएको बाढीका कारण धानबालीमा क्षति पुगेकाले उत्पादन घट्न सक्ने अनुमान गरिएको बताए । उनका अनुसार मधेस प्रदेशमा ५७ हजार हेक्टर धान खेतमा क्षति भएको छ ।

धान खेतीमा भएको क्षतिका विषयमा मन्त्रालयले प्रादेशिक स्तरबाट क्षति सम्बन्धी विवरण सङ्कलन गर्ने तयारी गरिरहेको छ । सबै प्रदेशबाट संकलित तथ्याङ्कलाई समेटेर क्षतिको विवरण यकिन गरिने अधिकृत जोशीले जानकारी दिए ।

मन्त्रालयका अनुसार गतवर्ष करिब ५७ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । यसवर्ष बढी रोपाइँ भएका कारण धान उत्पादन बढ्ने अनुमान गरिएका बेला मौसमको प्रतिकुलताका कारण अपेक्षा अनुसार नतिजा नआउने अनुमान गरिएको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार ००:००  ७ : १८ बजे