काठमाडौँ-संसदीय छानबिन विशेष समितिले शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिने तयारी गरेको छ । सहकारी संस्थाको रकम दुरुपयोग गरेको सम्बन्धमा समितिले आज सभापति लामिछानेलाई बयानका लागि बोलाएको हो ।
पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई शुक्रबार दिउँसो २ बजे बयानका लागि बोलाइएको समितिले जनाएको छ । लामिछानेलाई गोर्खा मिडिया नेटवर्क प्रालिको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा बोलाइएको समितिका सभापति सूर्य थापाले बताए ।
लामिछानेसँग बयान लिनु अघि आजै समितिले गोर्खा नेटवर्कका सञ्चालक छविलाल बन्जाडे जोशीसँग पनि ११ बजे बयान लिनेछ । यसअघि बुधबार बसेको पार्टीको बैठकमा सभापति लामिछानेले आफूलाई संसदीय समितिले बयानका लागि बोलाएको जानकारी गराएका थिए ।
संसदीय छानबिन विशेष समितिले देशभरका समस्याग्रस्त झण्डै १०० सहकारीका सञ्चालक र सेयर सदस्यसँग बयान लिइसकेको छ ।


















