झापा-राष्ट्रिय स्वतन्त्र पार्टीले देशव्यापी प्रदर्शन जारी राख्ने भएको छ । पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले देशव्यापी रूपमा प्रदर्शन चर्काउने निर्णय गरेको हो ।
सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको थियो। अदालतको अनुमतिपछि शुक्रबार काठमाडौँस्थित पार्टी कार्यालयबाट लामिछाने पक्राउ परेका थिए ।
लामिछाने पक्राउ परे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले शनिबार देशव्यापी रुपमा प्रदर्शन गरेका छन् । झापाको बिर्तामोडमा समेत प्रदर्शन भएको छ ।
रास्वपाका नेता कार्यकर्ताले बिर्तामोडस्थित गिरीबन्धु टीस्टेट अगाडि समेत प्रदर्शन गरेका छन् । कार्यकर्ताको जुलुसपछि बिर्तामोडको मुक्तिचोकमा कोणसभा भएको थियो ।
लामिछानेको गिरफ्तारी विरुद्ध आइतबार पनि प्रदर्शन जारी राख्ने रास्वपाले जनाएको छ । लामिछाने पक्राउ परेपछि स्वर्णिम वाग्ले, डीपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा, सह महामन्त्री रमेश प्रसाई लगायतका थुप्रै नेता कार्यकर्ता पोखरामा केन्द्रित छन् ।