बिर्तामोड-बिर्तामोड नगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराइदिन सरोकारवालासँग अपिल गरेको छ ।
तीव्र सहरीकरणको चपेटामा परेको बिर्तामोडमा सार्वजनिक शौचालय नभएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला नगरपालिकाले कम्तीमा पाँच धुर जग्गा उपलब्ध गराइदिन सार्वजनिक रुपमा अपिल गरेको हो ।
नगरपालिकाले १५ दिने सूचना निकालेर कार्यपालिका बैठकको निर्णयअनुसार ६ नम्बर वडाको बुट्टाबारीदेखि चारपाने चोकसम्म १०० मिटर दूरीभित्र जग्गा उपलब्ध गराइदिन अनुरोध गरेको छ ।
बिर्तामोडमा सार्वजनिक शौचालय निर्माणका लागि संघीय सरकारले १ करोड रुपैयाँ उपलब्ध गराएको छ । संघीय सरकारबाट रकम प्राप्त भएपछि नगरपालिकाले जग्गा खोजीका लागि वडाध्यक्ष अग्निप्रसाद पाण्डेको संयोजकत्वमा समिति गठन गरेको थियो ।
समितिले सार्वजनिक शौचालय निर्माणका लागि चाहिने जग्गा फेला पार्न नसकिएको प्रतिवेदन नगरपालिकामा बुझाइसकेको छ । समितिको प्रतिवेदनपछि नगरपालिकाले १५ दिने सूचना निकालेर सरोकारवालासँग अनुरोध गरेको हो ।
शौचालय निर्माणका लागि उपयुक्त जग्गा नभेटिए सरकारले उपलब्ध गराएको बजेटसमेत फ्रिज हुने अवस्थामा रहेको नगर प्रमुख पवित्र महतारा प्रसाईले बताइन् ।