५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

झापाका स्थानीय तहमा आफ्नै अस्पताल



बिर्तामोड– झापाका अधिकांश स्थानीय तहले आफ्नै अस्पताल सञ्चालनमा ल्याएका छन् । १५ स्थानीय तहमध्ये १२ वटा स्थानीय तहमा न्यूनतम १५ शैयाको अस्पताल सञ्चालनमा छ ।

स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी चुडामणि लुइटेलले नगर अस्पताल र आधारभूत अस्पतालमार्फत स्थानीय तहमा स्वास्थ्य सेवा उपलब्ध रहेको बताए ।

बिर्तामोड, कन्काई, अर्जुनधारा, मेचीनगर गौरादह लगायतका नगरमा आफ्नै अस्पताल सञ्चालनमा छन् । नगरपालिकामार्फत तिनको व्यवस्थापकीय क्षमता बढाउँदै लगिएको छ ।

गौरीगञ्ज, बुद्धशान्ति, हल्दीबारी, बाह्रदशी, कमल लगायतका गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालनमा छन् । कचन कवल गाउँपालिका र शिवशताक्षी नगरपालिकाले आधारभूत अस्पताल सञ्चालनका लागि तयारी गरिरहेका छन् ।

स्थानीय तह आफैंले सञ्चालन गरेका अस्पतालमा सेवाग्राहीको चाप बढ्दै गएको छ । पूर्वाधार व्यवस्थापन, दक्ष जनशक्तिको उपलब्धता र अत्याधुनिक उपकरणको प्रयोग बढाउँदै लैजान सके धेरै सेवाग्राहीले सहज उपचार सेवा प्राप्त गर्न सक्ने देखिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार ००:००  ८ : ४२ बजे