बिर्तामोड-झापा ११ फुटबल क्लबले स्थापनापछि दोस्रोपटक ठूलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले यसअघि २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो ।
मंसिर २९ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता हुन लागेको क्वलका महासचिव गणेश पोखरेलले बताए ।
प्रतियोगिता सञ्चालन समितिका संयोजक केशवराज दाहालका अनुसार प्रतियोगितामा मोफसलका चर्चित टिम र भारतका दुई वा तीन टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ ।
उपविजेता टिमले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । फाइनल खेल पुस ६ गते हुनेछ । झापामा फुटबलको स्तर बढाउने तथा खेल पर्यटनको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।
११ वर्षअघि अखिल नेपाल फुटबल संघको आयोजनामा काठमाडौँमा सम्पन्न एन्फा कपमा पहिलो पटकको सहभागितामा नै ए डिभिजन क्लबहरुलाई पराजित गर्दै झापाली टिम च्याम्पियन बनेको थियो ।