३२ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025

राजनीतिक भागबण्डाका नाममा मन्त्रालयको सङ्ख्या बढाउन सकिँदैन : मुख्यमन्त्री कार्की



मोरङ-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राजनीतिक भागबण्डाका नाममा मन्त्रालयको सङ्ख्या बढाउन नसकिने बताएका छन् । उनले सङ्ख्या बढाउन उचित नहुने बताए ।

आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले मन्त्रालयको सङ्ख्या बढाउन नसकिने स्पष्ट पारेका हुन् । एमाले कांग्रेस बीचको भागबण्डामा मन्त्रालयको सङ्ख्या बढाउने चर्चा चलिरहेको छ ।

प्रदेशमा नौवटा भन्दाबढी मन्त्रालय बनाउन नहुनेमा आफूले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओली समक्ष भेटेर कुरा राखेको मुख्यमन्त्री कार्कीले बताए ।

एमालेले मुख्यमन्त्रीसहित ५ र नेपाली कांग्रेसले चार मन्त्रालय लिने सहमति भएको र एक दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने मुख्यमन्त्री कार्कीको दाबी छ ।

नेपाली कांग्रेसले मन्त्रीका लागि नाम दिनासाथ सरकारले पूर्णता पाउने बताउँदै मुख्यमन्त्री कार्कीले राज्यमन्त्रीको सङ्ख्या बढाउन सकिने संकेत गरेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार ००:००  ९ : ४८ बजे