काँकडभिट्टा-प्रहरीले काँकडभिट्टा नाकाबाट ब्राउन सुगरसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । शनिबार दिउँसो मेची पुलबाट भारतको सिक्किम सिङ्गेथान घर भएका २१ वर्षीय विक्रम क्षेत्री पक्राउ परेका हुन् ।
सिटी रिक्सामा चढेर नेपाल आउँदै गर्दा क्षेत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले शङ्का लागेर चेकजाँच गर्दा क्षेत्रीका साथमा ब्राउन सुगर भेटिएको बताए ।
मलद्वारमा लुकाएर ल्याएको अवस्थामा क्षेत्रीका साथमा १० ग्राम ब्राउन सुगर फेला परेको हाे । उनलाई लागू औषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको जनाइएको छ । क्षेत्री मोरङको पथरीमा बस्दै आएका छन् ।