८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

बिर्तामोडको हर्कलाल मार्ग यसवर्ष पनि स्तरोन्नति हुँदै



बिर्तामोड-बिर्तामोडको हर्कलाल मार्ग चालु आर्थिक वर्षमा पनि स्तरोन्नति हुने भएको छ । गएको आर्थिक वर्षमा पनि सडक स्तरोन्नति भएको थियो । यसवर्ष पनि त्यसलाई निरन्तरता दिन लागिएको हो ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईका अनुसार चालु आर्थिक वर्षमा हर्कलाल मार्ग स्तरोन्नतिको कार्य अगाडि बढेको छ । स्तरोन्नतिका लागि ३ करोड २१ लाख रुपैयाँको बजेट प्राप्त भएको नगर प्रमुख प्रसाईंले बताइन् ।

सडक स्तरोन्नतिकाे लागि सघन सहरी विकास कार्यालयबाट १ करोड ५० लाख र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट १ करोड ७१ लाख बजेट प्राप्त भएको छ । गतवर्ष आनन्दचोक सम्मको १०५६ मिटर सडक स्तरोन्नति भएको थियो ।

सडक डिभिजन कार्यालय दमकका इन्जिनियर किरण श्रेष्ठले भदौ पहिलो साता ठेक्का लगाउने गरी लागत इस्टमेट तयार भइरहेको बताए । उनका अनुसार हर्कलाल मार्गको करिब २ किलोमिटर सडक ड्रेनसहित स्तरोन्नति हुनेछ ।

वडाध्यक्ष राहुलकुमार शर्माले सडक स्तरोन्नति भएपछि आवतजावत सहज हुने बताए । वडाध्यक्ष शर्माले सडक निर्माणका लागि सहजीकरण गर्न स्थानीय उपभोक्तालाई आग्रह पनि गरेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार ००:००  ९ : ३६ बजे