बिर्तामोड–नेकपा माओवादी झापाले संगठन विस्तार कार्यक्रम अन्तरगत पाँचसय भन्दाबढी शुभेच्छुकले पार्टी सदस्यता लिन लागेको जनाएको छ ।
बिहीवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी केन्द्रले पार्टीको सदस्यता लिन चाहने शुभेच्छुकलाई कार्यक्रम आयोजना गरी स्वागत गर्न लागिएको जनाएको हो ।
माओवादी केन्द्र झापाका संयोजक राजु आचार्यका अनुसार नवप्रवेशीलाई स्वागत गर्न साउन १९ गते बिर्तामोडमा ‘पार्टी प्रवेश तथा स्वागत कार्यक्रम’ आयोजना गरिएको छ ।
‘माओवादी छोड्ने मात्र होइन, पार्टीमा फर्किने पनि क्रम जारी रहेको सन्देश दिन पनि कार्यक्रम गर्न लागिएको हो’, संयोजक आचार्यले भने ।
माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले लामो समयपछि पार्टी प्रतिपक्षमा रहेकाले माओवादीको आगामी योजना के रहेको छ भन्ने आमनागरिकमा चासो रहेको बताए ।
स्वागत कार्यक्रम माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलको प्रमुख आतिथ्यमा हुन लागेको हो ।