काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले ३० बुँदे सुझाव दिएको छ ।
एमाले उपमहासचिवसमेत रहेका सञ्चारमन्त्री गुरुङलाई प्रचार विभाग प्रमुख राजेन्द्र गौतम नेतृत्वको टोलीले बुधवार सुझाव पेश गरेको हो ।
सञ्चार क्षेत्रमा गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन कामको सूचीसहित ३० बुँदे सुझाव बुझाएको छ । टोलीले सञ्चार क्षेत्रका कार्यक्रमका सम्बन्धमा १७ बुँदे र नीतिगत तथा संरचनागत क्षेत्रमा १३ बुँदे सुझाव पेश गरेको हो ।
एमाले प्रचार विभागले बुझाएको सुझावमा राष्ट्रिय सभाको बिधायन समितिमा रहेको मिडिया काउन्सिल विधेयक परिमार्जनसहित तत्काल पारित गरी मिडिया काउन्सिल गठन गर्नुपर्ने उल्लेख छ । यसैगरी सार्वजनिक सेवा प्रशारण विधेयक पारित गरी कार्यान्वयन, गर्न भनिएको छ ।
राष्ट्रिय आमसञ्चार प्राधिकरणको गठन, श्रमजीवी पत्रकारबाट सञ्चालित साना लगानीका स्वरोजगारमूलक सञ्चारमाध्यमको प्रवर्द्धन, डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन, पत्रकारको स्वास्थ्य बीमा र सरकारी अस्पतालमा निशुल्क उपचारको व्यवस्था गर्न सुझाव दिइएको छ ।
सञ्चारमाध्यमको दर्ता, नवीकरण, नियमन तथा सेवासुविधाका सन्दर्भमा प्रेस काउन्सिल नेपाल, सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्डलगायत विभिन्न सरकारी निकायमा अनावश्यक र झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने अव्यवहारिक प्रावधान खारेज गर्नुपर्ने र एकद्धार प्रणाली लागु गर्नु पर्ने सुझाव पनि छन् ।
श्रमजीवी पत्रकारको निःशुल्क दुर्घटना बिमालाई स्वास्थ्य बिमामा रुपान्तरण गरी प्रभावकारी कार्यान्वयन पनि सुझाव दिइएको छ ।
ज्येष्ठ पत्रकार सम्मान वृत्ति कोष रकमको बृद्धि गर्ने, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन र समस्याको दीर्घकालीन समाधानको नीतिगत समन्वय गर्ने जस्ता सुझाव एमालेले दिएको छ ।
सुझाव ग्रहण गर्दै सञ्चारमन्त्री गुरूङले यसलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयनमा लाग्ने बताए । उनले सञ्चार क्षेत्रसँगको सहकार्यमा नीतिगत तथा अन्य सुधारको काम गर्ने जानकारी दिए ।