झापा-बिर्तामोड नगरपालिकाले सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । ‘पारीको होइन बारीको खाउँ’ भन्ने नारासहित नगरपालिकाले बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो ।
सोमबार बिर्तामोड-५ स्थित तमुटोलमा सामुदायिक तरकारी बिक्री केन्द्रकाे उद्घाटन गरिएको छ । कार्यवाहक नगर प्रमुख सीता ढुङ्गानाले केन्द्रको उद्घाटन गरेकी छन् ।
नगरपालिकाले पाँचवटा तरकारी बिक्री केन्द्र, चारवटा सङ्कलन केन्द्र र एउटा मुख्य सङ्कलन केन्द्र स्थापना गरेको छ । ती केन्द्रबाट उपभोक्ताले तरकारी खरिद गर्न सक्नेछन् ।
नगरका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले स्थानीय कृषिजन्य वस्तुको बजारीकरणमा सहयोग पुग्ने गरी तरकारी बिक्री केन्द्र स्थापना गरिएको बताए ।
बिक्री केन्द्रमा लैजानुभन्दा अगाडि तरकारीमा विषादी मापन गर्ने गरिएको छ । विषादीरहित खान योग्य तरकारी मात्रै बिक्री केन्द्रमा लगिने गर्छ ।
बिर्तामोड नगरपालिकाले गत आर्थिक वर्षको योजना अनुसार तरकारी बजार व्यवस्थापन कार्यक्रम अगाडि बढाएको हो । कृषि शाखाका अनुसार बिर्तामोडमा ११७ जना व्यवसायिक तरकारी कृषक छन् ।


















