बिर्तामोड– प्रहरी कार्यालयभित्र मानवअधिकारमैत्री हिरासत कक्ष नभएको जनाउँदै सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् । मानवीय संवेदनशीलताका हिसाबले प्रहरी कार्यालयका हिरासत कक्षमा गम्भीर समस्या देखिएको हो ।
मानवअधिकार सञ्जाल झापाले जिल्ला प्रशासन कार्यालयमार्फत महान्यायाधिवक्ताको कार्यालयलाई ज्ञापनपत्र पठाएर हिरासत कक्षमा देखिएका कमजोरी अविलम्ब सुधार गर्न माग गरेको छ ।
मानवअधिकार सञ्जाल झापाका अध्यक्ष डा. रूपक खनालका अनुसार मानवीय दृष्टिले प्रहरी कार्यालयका हिरासत कक्ष अत्यन्तै कमजोर छन् । क्षमताभन्दा बढी थुनुवा राख्ने गरेका कारण धेरै हिरासतमा समस्या छ ।

खानेपानी र शौचालयको व्यवस्थापनमा समेत पर्याप्त ध्यान पुग्न नसकिरहेको पाइएको छ । मानवअधिकार सञ्जालले भदौ ५ देखि ७ गतेसम्म विभिन्न हिरासत कक्षको अनुगमन गरेको थियो ।
अनुगमनपछि सञ्जालले इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासत कक्ष अत्यन्तै दुर्गन्धित भएको जनाउँदै तत्काल सुधार गर्नुपर्ने सुझाव दिएको छ । बिर्तामोड प्रहरीको हिरासत वरपर एक मिनेट पनि उभिन नसक्ने गरी दुर्गन्ध फैलिएको अनौपचारिक क्षेत्रसेवा केन्द्र इन्सेकका झापा प्रतिनिधि नरेश खातीले बताए ।
बिर्तामोडको प्रहरी हिरासतमा क्षमताभन्दा धेरै थुनुवा राखिएका छन् । लागूऔषध प्रयोगकर्ताको सङ्ख्या हिरासतमा अत्याधिक छ । थुनुवा महिलालाई भद्रपुरको हिरासतमा लैजाने गरिएको छ ।
इलाका प्रहरी कार्यालय दमकको हिरासत कक्ष लैङ्गिक हिसाबले झन् संवेदनशील छ । महिला र पुरुषको थुनुवा कक्षको एउटै ढोका भएको इन्सेक प्रतिनिधि खाती बताउँछन् ।
‘पुरुष थुनुवा राखेको ठाउँबाटै महिलालाई पनि ओहोरदोहोर गराउनुपर्ने रहेछ’, सञ्जालका अध्यक्ष डाक्टर खनालले भने, ‘संवेदनशीलताका हिसाबले समेत दमकको थुनुवा कक्षमा तत्काल सुधार गर्नुपर्छ ।’
दमकको प्रहरी हिरासतमा महिला थुनुवाका गतिविधि पुरुषले देख्न सक्ने, छुन सक्ने वा अभद्र व्यवहार गर्न सक्ने, पुरुष थुनुवाको अभद्र बोलिचाली र झगडाले महिला थुनुवालाई मानसिक समस्या हुन सक्ने देखिएको अधिकारकर्मीको ठम्याई छ ।
थुनुवा महिलाको गोपनीयता र मानवअधिकार उपयोगमा समेत गम्भीर असर पर्ने भएकाले दमकको हिरासत कक्षमा तत्काल सुधार गर्नुपर्ने अवस्था देखिएको इन्सेक प्रतिनिधि खातीले बताए ।