झापा- प्रधानमन्त्री केपी ओलीले कांग्रेससँग सत्ता सहकार्यका लागि भएको सातबुँदे सहमति प्रतिनिधिसभालाई जानकारी गराएका छन् ।
संसदको आइतवारको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुअघि मन्तव्य व्यक्त गर्ने क्रममा प्रधानमन्त्रीले कांग्रेससँग भएको सहमति जानकारी गराएका हुन् ।
प्रधानमन्त्रीका अनुसार सातबुँदे सहमतिमा राष्ट्रिय सहमतिको सरकार बनाउने,र राजनीतिक स्थायित्वका लागि आवश्यक संविधान संशोधन गर्ने उल्लेख छ ।
अर्थतन्त्रको समस्या समाधान गरेर देशमा रोजगारीको समस्या सिर्जना गर्ने, राष्ट्रिय सहमतिको सरकारको दुई वर्ष ओली र त्यसपछि चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमतिमा उल्लेख छ ।
राष्ट्रिय हितको रक्षा गर्न र भ्रष्टाचारको अन्त्य गरी सुशासन दिन न्यूनतम साझा कार्यक्रम तय गरी सरकार सञ्चालन गर्ने, राष्ट्रिय सहमतिको सरकारका लागि दुई ठूला दलको नेतृत्वदायी भूमिकाको आधारमा सरकारमा समान भूमिका रहने र अन्य दललाई पनि सहभागी गराउने विषयमा पनि सहमति भएको छ ।
राष्ट्रिय सहमतिको सरकार गठनको भावनाअनुरूप प्रदेश सरकार गठन र सञ्चालन गर्ने विषयमा पनि दुई पार्टी एकमत भएको प्रधानमन्त्री ओलीले बताए ।