काठमाडौँ-हिमाल आरोहणका लागि ६९ देशका ८३९ जना विदेशी नेपाल आएका छन् । सगरमाथा बाहेकका ३७ वटा हिमाल आरोहणका लागि उनीहरू नेपाल आएको पर्यटन विभागले जनाएको छ ।
गतवर्षको शरदकालीन हिमाल आरोहणका लागि २६० महिला र १ हजार ६६ पुरुष गरी १ हजार ३२६ जनाले अनुमति लिएका थिए । यस वर्षको सिजनमा आरोहण अनुमति लिनेको सङ्ख्या केही घटेको हो ।
गतवर्ष विभागले आरोहणमा गएका पर्यटकबाट सलामी दस्तुर बापत ७ करोड ८४ लाख रुपैयाँ सङ्कलन गरेको थियो । यस वर्ष ६ करोड ३५ लाख सलामी दस्तुर सङ्कलन भएको छ ।
यसपटक १११ वटा आरोहण दल हिमाल आरोहणका लागि गएका छन् । आराेहण दलमा नेपालका दुई महिला र २९ पुरुष पनि शरदकालीन हिमाल आरोहणमा गएको विभागले जनाएको छ ।