१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

गुणस्तरहीन चामल भन्सार नाकाबाटै भारत फिर्ता




काठमाडौँ- भारतबाट आयात गरिएको ८५ हजार किलो चामल न्यून गुणस्तरको पाइएपछि भन्सार नाकाबाटै फिर्ता पठाइएको छ ।

नेपालगञ्जका व्यापारीले व्यावसायिक प्रयोजनका लागि भारतबाट मगाएको ८५ हजार किलो चामल मापदण्डअनुसार नभएको भेटिएको हो ।

गुणस्तरहीन भएकाले उक्त चामल उतै फिर्ता पठाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले चामल गुणस्तरहीन भएको बताए ।

नेपालगञ्जको एकीकृत जाँच चौकीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले चामलको परीक्षण गरेको थियो ।

सरकारले चामल आयातका लागि तोकेको अनिवार्य मापदण्ड बमोजिम न्यूनस्तर पाइएकोले निर्यात गर्ने देशमै फिर्ता गरेको विभागले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार ००:००  ११ : ५२ बजे