झापा- भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण सुरुवात भएको छ । पेट्रोलियम पाइपलाइन विस्तारको काम पूरा भएपछि परीक्षण थालिएको हो ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र परीक्षणका लागि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात गर्न थालिएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिए ।
पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्नका लागि आवश्यक तयारीसमेत भइरहेको आचार्यले बताए । उनका अनुसार जनवरी २०२५ देखि पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्ने भनिए पनि आवश्यक तयारी पूरा नभएकाले केही दिन ढिला हुनेछ ।
परियोजनाअन्तर्गत पहिलो चरणको काम सम्पन्न भई गत २०७६ साल भदौ २५ गतेदेखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको छ । परियोजनाको दोस्रो चरणको सकिएपछि पाइपलाइनबाटै पेट्रोल र मट्टितेलकोसमेत आयात हुने जनाएको छ ।
आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार आठ सय ४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार छ सय ३० किलोलिटर पुग्नेछ ।