११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

जेलबाट सुरुङ खनेर भागेका यादव नौ वर्षपछि पक्राउ



सुनसरी-सुरुङ खनेर कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एकजना अभियुक्तलाई प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका १० बलहाका चन्द्रशेखर भनिने विनायक कुमार यादव छन् ।

यादव सिन्धुपाल्चोक कारागारमा सुरुङ खनेर नौ वर्षअघि भागेका थिए । पहिलोपटक झुम्का कारागारबाट पनि सुरुङ खनेर भागेका यादव दोस्रोपटक पनि भागेपछि प्रहरीका लागि टाउको दुखाएको विषय भएको थियो ।

दुईपटकसम्म जेलबाट सुरुङ खनेर भाग्न सफल भएका यादव भारतमा लुकिछिपी बस्दै आएका थिए । छठ पर्वको अवसरमा घर आएको मौका छोपेर शुक्रबार बिहान प्रहरीले यादवलाई पक्राउ गरेको हो ।

सुनसरीका डीएसपी रामप्रसाद तिम्सिनाले छठमा रमाइरहेका बेला प्रहरीलाई देखेर भाग्न खोजेपछि गोली हानेर यादवलाई नियन्त्रणमा लिएको बताए । यद्यपि, प्रहरीले चलाएको गोली भने यादवलाई लागेको छैन ।

प्रहरीका अनुसार यादव र उनका साथी श्याम भनिने श्यामकुमार यादवले २०६५ साल वैशाख १६ गते सुनसरीको प्रकाशपुर ६ का ३९ वर्षीय केशव कार्कीको गोली हानेर हत्या गरेका थिए ।

उनीहरूका साथबाट प्रहरीले एक थान पेस्तोल र ११ राउण्ड गोली बरामद गरेको थियो । कार्की हत्या अभियोगमा यादवलाई जिल्ला अदालतले २० वर्ष ८ महिना १४ दिन कैद सजाएको फैसला सुनाएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार ००:००  १ : ०३ बजे