पोखरा-सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज फेरि पोखरा ल्याइँदैछ ।
सुप्रिम सहकारी ठगी प्रकरणसँग जोडिएपछि मङ्गलबार उनलाई रूपन्देही लगिएको थियो । रुपन्देहीमा बयान सकिएकाले आज हवाई उडानमार्फत पोखरा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको हो ।
पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई व्यवहार साँझ नै बुद्ध एयरमार्फत पोखरा ल्याउने तयारी गरिएको थियो । बयान सकिए पनि त्यसलाई प्रमाणिकरण गराउँदा राति अबेर भएपछि आज मात्रै पोखरा पठाउन लागिएको छ ।
बयानका क्रममा सभापति लामिछानेसँग ७० भन्दाबढी लिखित प्रश्न सोधिएको छ । सबै प्रश्नमा उनले इन्कारी बयान दिएका छन् । संसदीय छानबिन समितिको सिफारिसका आधारमा सभापति लामिछानेलाई कार्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएको थियो ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको छ । पोखरा लगत्तै उनलाई काठमाडौँ लैजाने प्रहरीको तयारी छ ।
















