सिराहा-मदिरा तस्करीमा संलग्न समूहले सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको हत्या गरेको छ । आइतबार बिहान मदिरा तस्करीका लागि प्रयोग गरिएको स्कर्पियोले हानेर यादवको हत्या गरिएको हो ।
मोटरसाइकलमा गस्तीमा रहेको यादवको टोलीले स्कर्पियोलाई पछ्याएको थियो । सो क्रममा मदिरा तस्कर समूहले नियोजित रुपमा यादवलाई ठक्कर दिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।
ठक्करबाट घाइते भएका यादवलाई तत्काल अस्पताल लगिएको थियो । अस्पताल लगेको १५ मिनेटपछि यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तस्कर समूहको ठक्करबाट यादवको मृत्यु भएपछि आफन्तले आइतबार बिहान प्रदर्शन गरेका छन् । केहीवेर पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध भएको थियो ।
सिराहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले घटनाबारे थप अनुसन्धान सुरु गरिएको बताउँदै दुईजनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।