सुनसरी-नेपाली नक्कली नोटसहित दुईजनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना भारतीय नागरिक पनि छन् ।
सुनसरीको कोशी गाउँपालिका १ स्थित लौकही बजारबाट उनीहरूलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए ।
पक्राउ पर्नेमा मोरङको सुन्दर हरैँचाका २० वर्षीय सन्देश उराव र भारतको बिहारका ३१ वर्षीय रामनाथ राय छन् । सामान किन्दा पसलेले शङ्का लागेपछि प्रहरीमा खबर गरेका थिए ।
पसलेको उजुरीपछि खानतलासी गर्दा उनीहरूका साथमा एक हजार दरको चार थान नेपाली नक्कली रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।
नक्कली नोटसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।