सप्तरी-तलब भत्ता नपाएपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका शिक्षक आन्दोलित भएका छन् । विद्यालय बन्द गरेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
नगर क्षेत्रभित्र ३५ वटा सरकारी विद्यालय छन् । शिक्षक आन्दोलनका कारण ती सबै विद्यालयको पढाई प्रभावित भएको छ । चाडपर्वमा समेत तलब नपाएको उनीहरूको गुनासो छ ।
नगरपालिका कार्यालयको मूल गेटमा शिक्षकहरूले धर्ना दिइरहेका छन् । आन्दोलनमा २२२ जना शिक्षक सहभागी भएको नगरपालिकाको कार्यालयले जनाएको छ ।
सङ्घर्ष समितिका संयोजक अशोककुमार यादवले साउनदेखि असोजसम्मको तलब भत्ता नपाउँदा समस्या भएको बताउँदै चाडबाडमा पनि पैसा नदिँदा शिक्षक मारमा परेको बताए ।
यसअघि सङ्घर्ष समितिले नगर प्रमुख वीरेन्द्र माझीलाई कार्तिक ६ गते भेटेर तीन दिनको अल्टिमेटम दिँदै तलब भत्ता यथाशीघ्र निकासा गर्न ज्ञापनपत्र बुझाएको थियो ।
नगर प्रमुख माझीले केही विषयमा विवाद सिर्जना भएकाले समयमा नगरसभा सम्पन्न नहुँदा तलब निकासा गर्न नसकिएको जनाउँदै अविलम्ब समस्याको समाधान गर्ने प्रयास भइरहेको बताए ।
नगरसभा बस्न नसक्दा शिक्षक, स्वास्थ्यकर्मी लगायतले तलब पाउन सकेका छैनन् भने वृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ता पनि रोकिएको छ ।