२ असार २०८३, मंगलबार | Wed Jun 17 2026

शिक्षकको कुटपिटबाट छात्रा घाइते, एम्बुलेन्समा राखेर अस्पताल लगियो



सतासीधाम-शिक्षकको कुटपिटबाट बाल निकुञ्ज माध्यमिक विद्यालयकी एकजना छात्रा घाइते भएकी छन् । शिवसताक्षी १० मा रहेको उक्त विद्यालयकी छात्रा अन्जली गुरुङलाई नेपाली विषयका शिक्षक हेतिराज निरौलाले कुटेका हुन् ।

शिक्षक निरौलाले बुधबार कक्षा कार्य नगरेको निहुँमा छात्रा गुरुङलाई पाइपले पिटेको विद्यालयका प्रधानाध्यापक भवानी थापाले बताए । घटनाप्रति शिक्षक निरौलाले आफूबाट गल्ती भएको स्वीकार गरेका छन् । कुटपिटबाट छात्राको ढाडमा तीनवटा सुम्ला बसेका छन् ।

कुटपिटबाट घाइते भएकी छात्रालाई विद्यालय परिसरबाट एम्बुलेन्समा राखेर बिर्ता सिटी हस्पिटल लगिएको छ । प्रधानाध्यापक थापाले उपचार भइरहेकी छात्राको अवस्था सामान्य रहेको बताउँदै घटनाबाट विद्यालय प्रशासन दुःखी भएको बताए ।

कुटपिटका विषयमा विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति र पीडित बीच छलफल गरेर थप निर्णय गर्ने प्रधानाध्यापक थापाले जानकारी दिए ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार ००:००  ९ : ५५ बजे