५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

बिर्तामोडको कम्प्युटर इन्स्टिच्युटमा यौन दुर्व्यवहार : ओजेटीमा जाने छात्राको सुरक्षामा गम्भीर प्रश्न



बिर्तामोड-व्यवहारिक अभ्यास शिक्षणका लागि पठाइएका छात्रामाथि बिर्तामोडको एउटा कम्प्युटर इन्स्टिच्युटमा यौन दुर्व्यवहार भएको घटना सार्वजनिक भएपछि विद्यार्थीको सुरक्षामा गम्भीर प्रश्न उठेको छ ।

प्राविधिक धारतर्फका छात्राले कम्प्युटर इन्स्टिच्युटमा भयरहित अभ्यास शिक्षण गर्ने परिस्थिति नरहेको गुनासो गरेपछि उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्य सुरक्षामा गम्भीर प्रश्न उठेको हो ।

घटनाप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । कम्प्युटर इन्स्टिच्युटका सञ्चालक तथा कर्मचारीले व्यवहारिक अभ्यास शिक्षण अर्थात् ओजेटीमा जाने छात्रामाथि दुर्व्यवहार गरेको घटना यसैसाता सार्वजनिक भएको थियो ।

घटनामा संलग्न भएको अभियोगमा बिर्तामोडको पावरटेक कम्प्युटरका सञ्चालक आलोक मेचे र कर्मचारी नारायण खनाल पक्राउ समेत परेका थिए । उनीहरु पक्राउ परेपछि कम्प्युटर सिकाई केन्द्रमा छात्रामाथि हुने दुर्व्यवहार बाहिर आएको हो ।

पक्राउ परेका मेचे र खनालमाथि छात्राको संवेदनशील अंगमा छुने, चलाउने, घुम्न जान दवाव दिने, आइफोन किनिदिने लगायतको प्रलोभन देखाउने गरेको गम्भीर आरोप छ ।

झापाका प्राविधिक तर्फका विद्यालयले वडा कार्यालय र क्वालिटी कम्प्युटर, हाइटेक कम्प्युटर, नाेभा एजुकेसन फाउन्डेसन, ट्रेड लिङ्क कम्प्युटर, कम्प्युटर साेलुसन, नमाेवुद्ध कम्प्युटर, पावरटेक कम्प्युटर, जेनुयिन कम्प्युटर लगायतमा ओजेटी गराउँदै आएका छन् ।

‘छात्रामाथि भएको यौन दुर्व्यवहारले कम्प्युटर इन्स्टिच्युटका सञ्चालक र तिनका कर्मचारीको नियत पर्दाफास भएको छ’, वीर अमरसिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारीले भने, ‘दोषीमाथि हदै सम्मको सजाए र जरिवाना हुनुपर्छ ।’

प्रधानाध्यापक अधिकारीका अनुसार बीर अमरसिंहले पठाएकी छात्रामाथि दुर्व्यवहारको पहिलो घटना सार्वजनिक भएको हो । दुर्व्यवहारको घटनापछि बीर अमरसिंहले आफ्ना पाँचै जना विद्यार्थी फिर्ता बोलाएको छ ।

कसुरदारलाई मुलुकी अपराध संहिता २०७४ को दफा २२५ बमोजिम हदैसम्मको सजाय र जरिवाना हुनुपर्ने विद्यालय सञ्चालकहरु बताउँछन् । कसुरदारबाट ऐनको दफा २२८ बमोजिम उचित क्षतिपूर्ति पाउने व्यवस्था मिलाउनुपर्ने उनीहरूको माग छ ।

‘ओजेटीमा जाने छात्रामाथि जसरी दुर्व्यवहार भएको छ, हाम्रा लागि यो विषय सहिसक्नु छैन्’, बिर्तामोड वडा नम्बर-२ का अध्यक्ष किशोरकुमार पौडेलले भने, ‘दोषीमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका पौडेलले ओजेटीमा जाने अधिकांश छात्राले यस्तो नियति भागेको हुनसक्ने बताउँदै कतिपयले डरत्रास र प्रतिष्ठाका कारण भन्ने हिम्मत नगरेको बताए ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार ००:००  ९ : १० बजे