झापा-कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
मानव तस्करी तथा सरकारी लिखत कीर्ते कसुरमा पक्राउ परेका अधिकारीलाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको हो ।
पूर्वमन्त्री अधिकारी आइतबार विराटनगरस्थित निवासबाट पक्राउ परेका थिए । मंगलबार उनलाई अदालतमा पेश गरिएको थियो । घटनामा संलग्न थप दुईजनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
मन्त्रिपरिषद्को निर्णय बिना जापान भ्रमणमा गएका पूर्वमन्त्री अधिकारीमाथि मानव तस्करीको आरोप छ । छानबिनका लागि सघाउने भन्दै उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
मन्त्री पदबाट राजीनामा दिए लगत्तै नेकपा एमालेले संगठित सदस्य समेत नरहने गरी अधिकारीलाई कारबाही गरिएको जनाएको थियो । त्यस लगत्तै उनी पक्राउ परेका हुन् ।