१३ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025

नेपाली युवा उद्यमी मञ्च झापाको अध्यक्षमा बेल्बासे



बिर्तामोड– नेपाली युवा उद्यमी मञ्च झापाको अध्यक्षमा रुपेशजंग बेल्बासे चयन भएका छन् । मञ्चको बुधबार भएको पहिलो जिल्ला अधिवेशनबाट बेल्बासे अध्यक्षमा चयन भएका हुन् ।

मञ्चको प्रथम उपाध्यक्षमा गणेश पौडेल, द्वितीय उपाध्यक्षमा मिजास पोखरेल रहेका छन् । मञ्चले महासचिवमाा अजित ढुङ्गानालाई चयन गरेको छ ।

कोषाध्यक्षमा सुरज चौधरी छन् ।आयुष बजगाई, उत्सव उप्रेती, निरज चौधरी, जस्मिन श्रेष्ठ, विशाल बिमली, विकास अग्रवाल, मनिष साहेबाला, वरदान बस्नेत सदस्यका रूपमा छानिएका छन् ।

मञ्चले आमन्त्रित सदस्यका रूपमा डाक्टर आशिष शर्मालाई छानेको छ । निर्वाचन अधिकृत राजेन्द्र चौलागाईले नवनिर्वाचित मञ्चका पदाधिकारी तथा सदस्यको नाम घोषणा गरेका हुन् ।

कोशी प्रदेशका खानेपानी सिचाई तथा ऊर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा आयोजित समारोहका बीच मञ्चले पद हस्तान्तरण गरेको छ ।

यसअघि गतवर्ष युवा उद्यमी प्रवेश बस्नेतको अध्यक्षतामा मञ्चको झापा च्याप्टर गठन भएको थियोे । व्यवसायिक सीप तथा क्षमताको विकासमा सघाउने र रोजगारीका अवसरहरु सिर्जना गर्ने गरी युवा उद्यमी बस्नेतले युवाहरुलाई संगठित गरेका थिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष लगायतका पदाधिकारी र सदस्यहरूलाई मन्त्री कार्की, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, मञ्चका निवर्तमान केन्द्रीय अध्यक्ष रितेश लामिछाने, बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपाने, महिला उद्यमी सङ्घकी अध्यक्ष सुष्मा भण्डारी लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिँदै झापा च्याप्टरका संस्थापक अध्यक्ष बस्नेतले व्यावसायिक प्रवर्द्धनकाे प्रारम्भिक प्रयास गर्दै एउटा भरपर्दो सञ्जाल निर्माण गर्न आफूले भूमिका निर्वाह गरेको बताए ।

मन्त्री कार्कीले आर्थिक विकासमा निजी क्षेत्रको भूमिका उल्लेखनीय रहेको बताउँदै प्रदेश सरकार प्रोत्साहन नीति बनाउन प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा मञ्चका सदस्य गणेश पौडेलले धन्यवाद ज्ञापन गरेका थिए । २००३ देखि सुरु भएको मञ्चको झापा च्याप्टर गतवर्ष गठन भएको हो । ३७ जनाबाट सुरु भएको मञ्चको झापा च्याप्टरमा अहिले ५१ जना सदस्य छन् ।

१८ वर्षदेखि ४० वर्ष उमेर समूहका युवा मञ्चमा आबद्ध हुन पाउँछन् । झापादेखि कैलालीसम्म १३ वटा च्याप्टरमा मञ्चले आफ्ना गतिविधि सञ्चालन गर्दै आएको मञ्चका केन्द्रीय उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठ बताउँछन् ।

सबै च्याप्टरमा एक हजारको हाराहारीमा युवा उद्यमीहरु सदस्य रहेको जनाइएको छ । मञ्चले विभिन्न ५० साझेदार संस्था मार्फत आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

युवा उद्यमी ढकाल सम्मानित

मञ्चले युवा उद्यमी राजु ढकाललाई कार्यक्रममा सम्मान गरेको छ । व्यवसाय प्रवर्द्धनसँगै रोजगारीका अवसरहरू सिर्जना गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका ढकाललाई प्रशंसापत्रसहित सम्मान गरिएको हो ।

प्रदेश सरकारका मन्त्री कार्कीले ढकाललाई सम्मानपत्र प्रदान गरेका हुन् । व्यावसायिक क्षेत्रमा एकपछि अर्को गर्दै फड्को मार्दै आएका ढकालले बिर्तामोडमा गणपति बेकरी सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार ००:००  ९ : ०४ बजे