बिर्तामोड-उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) झापाले कक्षा ११ को परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गर्ने विभिन्न संकायका विद्यार्थीलाई शनिबार पुरस्कृत गरेको छ ।
बिर्तामोडमा कार्यक्रमको आयोजना गरी हिसानले उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई मेडल, प्रमाणपत्र र नगदसहित पुरस्कृत गरेको हो । कार्यक्रममा विज्ञान, मानविकी, कानून, शिक्षा र व्यवस्थापन संकायका उत्कृष्ट विद्यार्थी प्रतिभा पुरस्कृत भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड प्रदेश व्यवस्थापन कार्यालय विराटनगरका प्रमुख जीवन गड्तौलाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै प्रादेशिक प्रमुख गडतौलाले विश्वसनीय र वैधता हुने गरी विद्यालय तहमा मार्किङ स्किम बनाएर उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने बताए ।
उनले विद्यार्थीको रुचि, योग्यता, क्षमता पहिचान गर्न सके मात्रै दक्ष जनशक्ति उत्पादन हुनेमा जोड दिए । हिसान झापाका अध्यक्ष टेकनाथ भण्डारीकाे अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले अहिलेका विद्यार्थीलाई ज्ञान दिएर मात्रै नपुग्ने बताए ।
कार्यक्रमका विशेष अतिथि समेत रहेका उपाध्यक्ष पोखरेलले भने, ‘ज्ञानले मात्रै हुँदैन सीप पनि चाहिन्छ । अब विश्व बजारको मागअनुसार विद्यार्थीलाई ज्ञानसँगै सीप पनि सिकाउनुपर्छ ।’
हिसान झापाका सचिव देवेन्द्र हुमागाईंका अनुसार उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीलाई हिसानले निरन्तर प्रेरित र प्रोत्साहित गर्दै आइरहेको छ । उत्कृष्ट भएका विद्यार्थीले मासिक शुल्कमा समेत छात्रवृत्ति पाउने व्यवस्था रहेको सचिव हुमागाईंले जानकारी दिए ।
जिल्ला प्रथम हुने विद्यार्थीलाई ५ हजार, दोस्रो हुनेलाई ४ हजार र तेस्रो हुनेलाई २ हजारका दरले पुरस्कृत गरिएको छ ।
कार्यक्रममा बिर्तामोड वडा नम्बर ४ का वडाध्यक्ष राहुल शर्माले विद्यार्थीलाई भविष्यका कर्णधार भनेर मात्र नपुग्ने बताउँदै उनीहरूलाई वर्तमानका साझेदारका रुपमा बुझ्नुपर्ने बताए ।
कार्यक्रममा दिइएको जानकारी अनुसार कक्षा ११ को विज्ञान संकायको परीक्षामा ग्लोबल एकेडेमी दमकका रुपेश नेपाल जिल्ला प्रथम भएका छन् । निदि सेकेन्डरी स्कुलका विजय पाण्डेले दोस्रो स्थान हासिल गरेका छन् ।
बिजनेस स्टडीतर्फ एकता एकेडेमी दमकका मेलिसा भट्टराई प्रथम, न्युटन्स एजुकेसन एकाडेमीकी सावित्रा न्यौपाने दोस्रो र बिर्ता मोडलकी निर्जला राई तेस्रो भएका छन् ।
तेस्रो भएका अरु तीनजना विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ । निदि स्कुलका अमित कट्टेल, ग्लोबलकी निर्जला निरौला र एमिटीका जेनिस भण्डारी तृतीय भएका हुन् ।