११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

साहित्य चौतारीको रजत वर्ष : स्रष्टा सर्जकलाई रथारोहणसहित नागरिक अभिनन्दन



बिर्तामोड– साहित्य चौतारी झापाले भाषा, साहित्य, कला र संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान गरेका विशिष्ट चार प्रतिभालाई रथारोहण गरी नागरिक अभिनन्दन गरेको छ ।

रजत महोत्सवको अवसर पारेर साहित्य चौतारीले दीर्घसेवा र साधनामा लागेका विशिष्ट प्रतिभाहरूलाई रथारोहण गरी नागरिक अभिनन्दन समर्पण गरेको हो ।

नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीकाे प्रमुख आतिथ्यमा आयोजित समारोहका बीच लोक सम्राट एलपी जोशी, नेपाली चलचित्रकी प्रथम संगीतकार शान्ति ठटाल, नेपाली पत्रकारिता क्षेत्रका सिद्धहस्त व्यक्तित्व नकुलकाजी र पूर्वका मोतिरामले परिचित भाषाविद् चुडामणि रेग्मीलाई बग्गी सहितको रथमा राखेर रथारोहण गरिएको हो।

मुक्तिचोकको दुर्गा मन्दिर परिसरमा दीप प्रज्वलन गर्दै बिर्तामोड नगर परिक्रमा गरी कार्यक्रम स्थलसम्म रथारोहण गरिएको थियो । रथारोहणपछि चार विशिष्ट यी प्रतिभालाई नागरिक अभिनन्दन गरिएको साहित्य चौतारी झापाका संस्थापक संरक्षक एवम् अध्यक्ष देवीभक्त श्रेष्ठले बताए ।

चार व्यक्तित्वमध्ये भाषाविद् रेग्मी अस्वस्थ रहेकाले संरक्षक श्रेष्ठ लगायतको टोलीले घरमै पुगेर नागरिक अभिनन्दन पत्र प्रदान गरेको छ ।

कार्यक्रममा संघीय तथा नाट्यकला प्रतिष्ठानका पूर्व सदस्य सचिव प्राज्ञ गणेश रसिक, प्राध्यापक डाक्टर टंक न्यौपाने, प्राध्यापक डाक्टर गंगाप्रसाद अधिकारी, साहित्यकार कुन्ता शर्मा, चित्रकार अनुराधा थापा, मूर्तिकार विक्रमश्री र कवि मनु मन्दिरलाई अभिनन्दन गरिएको छ ।

कार्यक्रममा चौतारीकी उपाध्यक्ष उर्मिला बिमली श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन महासचिव भानुभक्त कुभिन्डेली र सदस्य सुनिता तामाङले गरेका थिए । कार्यक्रमको विस्तृत रूपरेखामाथि उपाध्यक्ष हिम्मत नेम्वाङले प्रकाश पारेका थिए ।

कार्यक्रममा साहित्य चौतारीले रचत वर्षको अवसरमा तयार पारेको रजत वर्ष विशेषाङ्ककाे प्रमुख अतिथि हार्तमछालीले विमोचन गरेका थिए । संस्थाका सल्लाहकार राजेन्द्र संग्रौलाले विशेषङ्ख सम्पादन गरेका हुन् ।

कार्यक्रममा छिमेकी राष्ट्र भारतबाट गोर्खा दुःख निवारण सम्मेलन दार्जिलिङ सरकारी महाविद्यालयकी नेपाली विभाग प्रमुख डाक्टर सुजाता रानी राई, गोरखा सांस्कृतिक संस्थान खर्सङ दार्जिलिङकी अध्यक्ष आशा मुखिया लामा लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार ००:००  १२ : ३२ बजे