झापा-मलेसियामा काम गर्ने सबै श्रमिकले १७०० रिंगेट तलब पाउने भएका छन् । मलेसिया सरकारले सबै क्षेत्रमा काम गर्ने श्रमिकको नयाँ न्यूनतम् तलब १७०० रिंगेट कायम गर्ने घोषणा गरेको हो ।
नेपाली श्रमिकका लागि आकर्षक रोजगारी गन्तव्य रहेको मलेसियामा श्रमिकको न्यूनतम् तलब बढेको छ । तलब बढेपछि १७०० रिंगेट अर्थात् करिब ५३ हजार नेपाली रुपैयाँ श्रमिकले प्राप्त गर्ने छन् ।
अहिले मलेसियाको श्रम बजारमा कार्यरत श्रमिकको तलब १५०० रिंगेट छ। मलेसिया सरकारले नागरिक र आप्रवासी श्रमिकबीच न्यूनतम् तलब समान रुपमा लागू गर्दै आएको छ ।
मलेसियाली सरकारको तथ्याङ्क अनुसार त्यहाँको श्रम बजारमा ३ लाख ९९ हजार ६१४ जना नेपाली कार्यरत छन् । तीमध्ये महिलाको सङ्ख्या १० हजार ९५७ छ ।
मलेसियाको श्रम बजारमा विदेशी आप्रवासीको सङ्ख्याका हिसाबले नेपाली श्रमिक तेस्रो नम्बरमा पर्छन् । पहिलोमा बङ्गलादेशी र दोस्रोमा इन्डोनेसियाली रहेका छन् ।