झापा– व्यवसायिक दवाव थेग्न नसकेपछि जिल्ला प्रशासन कार्यालय झापाले कोरोना संक्रमणको पूर्ववत जोखिम आँकलन नगरी बजार खुला गर्ने निर्णय गरेको छ । सबै प्रकारका यातायातका साधन चल्न चलाउन दिने तर व्यवसायीका सटर मात्रै बन्द गर्ने प्रशासनको नीति मान्य नहुने जनाउँदै झापाको व्यवसायिक क्षेत्रले अविलम्व बजार खोल्न पाउनु पर्ने माग राखेको थियो ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनालाई आइतवार भेटेर जिल्लाका व्यवसायीले भदौ १ देखि बजार खोल्न पाउनु पर्ने माग राखेका थिए । कोरोना संक्रमणको जोखिम नघटेको अवस्थामा पनि व्यवसायीको मागप्रति लचिलो हुँदै प्रशासनले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर बजार खोल्न दिने निर्णय लिएको हो ।
स्थानीय प्रशासनको निर्णयले चरम् मर्कामा परेका व्यवसायीले राहत पाउने बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने बताउँछन् । ‘अरु सबै खुला गर्ने पसल मात्रै बन्द गर्ने हिजोको अवस्था अन्त्य हुनुपर्छ भन्नेमा हाम्रो जोड थियो’, वरिष्ठ उपाध्यक्ष न्यौपानेले भने, ‘भोलिदेखि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै बजार खुला हुनेछ ।’
संक्रमणको जोखिम नघटेको अवस्थामा बजारमा भीड बढ्ने भीडप्रति व्यवसायी चनाखो हुनु पर्ने अवस्था छ । आइतवारको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार झापामा सक्रिय संक्रमितको संख्या ३२१५ छ । आइतवार मात्रै १८२ जना संक्रमित थपिएका थिए ।



















