झापा– व्यवसायिक दवाव थेग्न नसकेपछि जिल्ला प्रशासन कार्यालय झापाले कोरोना संक्रमणको पूर्ववत जोखिम आँकलन नगरी बजार खुला गर्ने निर्णय गरेको छ । सबै प्रकारका यातायातका साधन चल्न चलाउन दिने तर व्यवसायीका सटर मात्रै बन्द गर्ने प्रशासनको नीति मान्य नहुने जनाउँदै झापाको व्यवसायिक क्षेत्रले अविलम्व बजार खोल्न पाउनु पर्ने माग राखेको थियो ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनालाई आइतवार भेटेर जिल्लाका व्यवसायीले भदौ १ देखि बजार खोल्न पाउनु पर्ने माग राखेका थिए । कोरोना संक्रमणको जोखिम नघटेको अवस्थामा पनि व्यवसायीको मागप्रति लचिलो हुँदै प्रशासनले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर बजार खोल्न दिने निर्णय लिएको हो ।