३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025

हल्दिबारीका गर्भवतीलाई नगदसहित एम्बुलेन्स र प्रयोगशाला सुविधा



झापा- हल्दिबारी गाउँपालिकाले गर्भवतीलाई नगदसहित निःशुल्क एम्बुलेन्स र प्रयोगशाला सुविधा उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहन गर्ने उद्देश्यले पालिकाले ‘सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरेको हो ।

कार्यक्रमबाट विपन्न महिलालाई सहयोग पुगेको छ । गाउँपालिकाले सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रमअन्तर्गत आठपटक नियमित गर्भजाँच गराउने महिलालाई प्रोत्साहनस्वरुप दुई हजार प्रदान गर्दै आएको छ ।

पालिकाभरि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनका साथै पालिका बाहिर जानुपरेमा ५० प्रतिशत छुटका व्यवस्था भएको छ भने निःशुल्क प्रयोगशाला सुविधा दिँदै आएको छ । गत आर्थिक वर्षमा सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रमअन्तर्गत चार लाख २९ हजार खर्च भएको छ ।

गाउँपालिकाले विपन्न नागरिकको उपचारमा सहयोग गर्ने उद्देश्यले जनता उपचार कोष स्थापना गरेको छ । गत आवमा उक्त कोषबाट पाँच लाख २८ हजार सहायता प्रदान गरिएको थियो ।

चालु आवमा हालसम्म कोषमार्फत रु एक लाख पाँच सय आर्थिक सहयोग परिचालन अध्यक्ष रवीन्द्र लिङ्देन बताए । रासस

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार ००:००  ११ : १४ बजे