संखुवासभा-सरकारले तल्लो अरुण जलविद्युत् आयोजनाबाट प्रभावितका लागि १ अर्ब ४० करोड रुपैयाँ मुआब्जा वितरण गर्ने भएको छ ।
आयोजनाबाट प्रभावित २६८ घरपरिवारलाई सरकारले मुआब्जा रकम वितरण गर्न लागेको हो ।
संखुवासभाको खाँदबारी नगरपालिकामा निर्माण हुन लागेको तल्लो अरुण जलविद्युत् आयोजना ६६९ मेगावाट क्षमताको रहेको छ ।
भारतीय निर्माण कम्पनी सतलजले ठेक्का लिएको उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गर्नुपर्छ ।
नाै सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट खेर गएको पानी प्रयोग गरी तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो ।
खाँदबारी नगरपालिका २ चेवाबेसीमा १७ दशमलव ४ किलोमिटर सुरुङ्ग मार्गबाट पानी ल्याएर तल्लो अरुण आयोजना निर्माण गर्न लागिएको भारतीय निर्माण कम्पनी सतलजका कार्यकारी प्रमुख अरुण धिमानले बताए ।