झापा- भदौ २४ गते जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सात जना कैदीलाई झापाबाट पक्राउ गरिएको छ ।
काठमाडौँको केन्द्रीय कारागार सुन्धारा, सुनसरीको झुम्का र कास्की कारागारबाट फरार भएका पाँच पुरुष र दुई महिला कैदीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
पक्राउ पर्नेमध्ये सुन्धारा कारागारबाट भागेका गौरादह नगरपालिका-५ की २८ वर्षीया रुकसार खातुन र सोही उमेरकी एकसरा खातुन स्वयं जिल्ला प्रहरी कार्यालयमा सम्पर्कमा आएका थिए । सरकारले फरार कैदीहरूलाई फर्कन जारी गरेको सूचनापछि उनीहरूले आत्मसमर्पण गरेका हुन् ।
कास्की कारागारबाट कर्तव्य ज्यान मुद्दामा फरार रहेका कनकाई नगरपालिका-६ का ३३ वर्षीय दिनेश सोरेनलाई भने प्रहरीले उनको घरबाटै पक्राउ गरेको छ । स्थानीयवासीले सोरेन घरमा लुकिरहेको सूचना दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
यसैगरी, नेपालबाट भागेर भारतको किशनगञ्ज पुगेका २३ वर्षीय नवलकिशोर नाम गरेका एक कैदीलाई भारतीय प्रहरीले पक्राउ गरी केचनास्थित इलाका प्रहरी कार्यालयलाई बुझाएको छ । उनी भारतीय नागरिक रहेको बताइएको छ ।
सुनसरीको झुम्का कारागारबाट जबर्जस्ती करणी मुद्दामा फरार भएका कनकाई नगरपालिका-४ का ४५ वर्षीय बलबहादुर राईलाई भने उनको परिवारले नै प्रहरीसमक्ष बुझाइदिएको छ । अन्य दुई जना कैदी सुन्धारा कारागारबाट भागेका थिए र उनीहरू पनि पक्राउ परेका छन् ।
प्रहरीले फरार अन्य कैदीहरूको खोजी तीव्र पारेको र सीमा नाकाहरूमा समेत कडाइ गरिएको जनाएको छ ।