झापा-झापामा भएको प्रदर्शनका क्रममा आन्दोलनकारीले विभिन्न प्रहरी कार्यालयका हिरासतबाट ९२ जना थुनुवालाई भगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, दमक, अनारमनी र झिलझिलेस्थित इलाका प्रहरी कार्यालयका हिरासतमा रहेका थुनुवालाई प्रदर्शनकारीले भगाएका हुन् ।
भगाइएका थुनुवामध्ये गम्भीर र जघन्य प्रकृतिका अपराधमा संलग्न भई अनुसन्धानमा रहेका व्यक्तिहरू पनि रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, अनारमनीबाट ३६ जना र झिलझिलेबाट ५ जना गरी कुल ९२ जना थुनुवालाई भगाइएको हो ।
घटनापछि फरार थुनुवाको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।