१ आश्विन २०८२, बुधबार | Thu Sep 18 2025

काँकडभिट्टा नाकाबाट बङ्गलादेशी पर्यटकको आगमन शून्य प्राय



बिर्तामोड– अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन दर बढेको पूर्वीनाका काँकडभिट्टास्थित अध्यागमन कार्यालयले जनाएको छ ।

अध्यागमन कार्यालयका प्रमुख तुलसी भट्टराईले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा पर्यटक आगमन दर दोब्बरले बढेको बताउनुभयो ।

कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१-८२ मा काँकडभिट्टा नाका हुँदै स्थलमार्गबाट ८ हजार ७२३ पर्यटक नेपाल प्रवेश गरेका छन् ।

अघिल्लो आर्थिक वर्षमा ४ हजार ३१६ जना पर्यटक नेपाल भित्रिएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा दोब्बरले पर्यटक आगमन बढेको तथ्याङ्कले देखाएको हो ।

‘अघिल्लो आर्थिक वर्षमा दैनिक १२ जनाको हाराहारीमा पर्यटक आइरहेका थिए । गतवर्ष दैनिक २४ जना पर्यटक नेपाल भित्रिएको देखिन्छ’, अध्यागमन कार्यालयका प्रमुख भट्टराईले भन्नुभयाे ।

कार्यालयले नेपाल भित्रिने पर्यटकबाट २ करोड ३२ लाख राजस्व पनि उठाएको छ । बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म कार्यालय खुला हुन्छ ।

कार्यालयका अनुसार साउनमा २८४ जना विदेशी पर्यटक काँकडभिट्टा नाकाबाट नेपाल छिरेका छन् । अरु देशका पर्यटक नेपाल भित्रिने क्रम बढेपनि बङ्गलादेशी पर्यटकको आगमन दर शून्य प्राय छ ।

कार्यालय प्रमुख भट्टराईका अनुसार फाट्टफुट्ट रुपमा मात्रै बङ्गलादेशी पर्यटक नेपालभित्र रहेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार ००:००  ८ : २५ बजे