१ आश्विन २०८२, बुधबार | Thu Sep 18 2025

पर्यटकीय क्षेत्र दोमुखाको वार्षिक आम्दानी करोड नजिक



शिवसताक्षी- झापाको प्रमुख पर्यटकीय गन्तव्य शिवसताक्षी-१० स्थित दोमुखाले एकै वर्षमा ८२ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै ठूलो आर्थिक फड्को मारेको छ । पर्यटकीय पूर्वाधार विकासमा लगानी बढाउँदै लगेको दोमुखा पर्यटन विकास समितिले पछिल्ला वर्षहरूको तुलनामा आम्दानीमा उल्लेख्य वृद्धि गरेको हो ।

समितिको १५औं वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा ८२ लाख ४८ हजार १५७ रुपैयाँ आम्दानी भएको हो । यो सफलतासँगै समितिले आगामी दिनमा दोमुखालाई थप आकर्षक गन्तव्य बनाउन महत्वाकांक्षी योजनाहरू अघि सारेको छ ।

समितिका अध्यक्ष धनप्रसाद लावतीले भने, “यो सबैको साथ र सहयोगले सम्भव भएको हो । अब हाम्रो लक्ष्य दोमुखाको आकर्षणलाई नयाँ उचाइमा पुर्‍याउनु हो ।”

समितिले भविष्यमा कन्काई नदीमा दोमुखादेखि चेप्टीसम्म ‘बोटिङ’ सञ्चालन गर्ने, होटल व्यवसायीसँगको सहकार्यमा होमस्टे प्रवर्द्धन गर्ने, ‘लब डाँडा’मा पर्यावरणीय पर्यटन (इको-टुरिजम) का कार्यक्रम सञ्चालन गर्ने र माई नदीको तटीय क्षेत्रमा साहसिक तथा मनोरञ्जनात्मक खेलहरूको विकास गर्ने योजना बनाएको छ ।

गत आर्थिक वर्षमा प्रवेशद्वार, झोलुङ्गे पुल, चिल्ड्रेन पार्कसम्म सडक बत्ती, माछाको स्तम्भ निर्माण र पार्किङ क्षेत्रमा इन्टरलक ब्लक बिछ्याउने जस्ता कार्य सम्पन्न भएका थिए । समितिले आफ्नो आम्दानीको ३० प्रतिशत अर्थात् १९ लाख ७९ हजार रुपैयाँ शिवसताक्षी नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

यसैबीच, समितिले नयाँ नेतृत्व चयनका लागि निर्वाचनको मिति समेत तय गरेको छ । आगामी ३ वर्षे कार्यकालका लागि भदौ १४ गते निर्वाचन हुनेछ । कार्यक्रममा बोल्दै शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले दोमुखाको विकासमा राजनीतिक रङ नमिसाई सक्षम नेतृत्व चयन गर्न आग्रह गरिन् ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार ००:००  १२ : ०१ बजे