१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

झापाको जेलमा रहेका भारतीय पत्रकार चौधरीलाई एक वर्ष कैद



झापा- नक्कली अमेरिकी डलर बोकेको अभियोगमा आठ महिनादेखि झापा कारगारमा रहेका भारत पश्चिम बंगालका फोटो पत्रकार दुर्लभ राय चौधरीलाई जिल्ला अदालत झापाले एकवर्षको कैद सजाय तोकेको छ ।

पश्चिम बंगालस्थित कोलकाताका २४ वर्षीय फोटो पत्रकार चौधरी अमेरिकी नक्कली नोट बोकेको अभियोगमा कारागार चलान भएका थिए ।

बिहीवार उनको मुद्दाको अन्तिम टुङ्गो लगाउँदै जिल्ला न्यायाधीस गिरिराज गौतमको एकल इजलासले एकवर्षको कैद सजाय र १५ हजार रुपैयाँ जरिवाना तोकेको हो ।

भारतको कोलकाताबाट सिलिगुडी हुँदै काँकरभिट्टा नाकाबाट नेपाल आएका चौधरीलाई चन्द्रगढी विमानस्थल प्रहरीले गत मंसिर २ गते पक्राउ गरेको थियो ।

चौधरीका साथमा एक सय डलरको अमेरिकी नोट फोटोकपी गरिएको २२६ थान बरामद भएपछि प्रहरीले उनलाई मुद्दा चलाएको थियो ।

चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरको जहाजमार्फत काठमाडौं जाने क्रममा समातिएका चौधरीका विषयमा गत जेठ तेस्रो साता नेपाली सञ्चारमाध्यममा समाचार सार्वजनिक भएको थियो ।

साढे सात महिना कैद भुक्तान गरिसकेका चौधरी बाँकी कैद भुक्तान गर्ने वा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ अनुसार प्रतिदिन पाँचसय रुपैयाँका दरले जरिवाना तिरी थुनामुक्त हुन निवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार ००:००  ९ : २३ बजे