बिर्तामोड-झापाको बिर्तामोडमा चर्चित आध्यात्मिक साधक एवम् मनोक्रान्ति अभियानका प्रवर्तक योगी डा. विकासानन्दको प्रवचन हुने भएको छ । विकासानन्द फाउण्डेसन विश्व परिवारको आयोजनामा आगामी बैशाख २२ गते प्रवचन कार्यक्रमको तयारी गरिएको हो ।
बिहान ६ बजेदेखि ११ बजेसम्म बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा प्रवचन कार्यक्रम आयोजना गरिएको आयोजक समितिका सचिव विजय बरालले बताए ।
शुक्रवार बिर्तामोडस्थित श्रीजय ड्रिमल्याण्ड पार्कमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार बैशाख २१ गते साँझ योगी डा. विकासानन्द झापा आउनेछन् ।
२२ गते बिहान आयोजित प्रवचनमा सहभागी भएर उनी फर्किने कार्यक्रम तय भएको छ । कार्यक्रममा योग ध्यान, साधना, हिप्नोसिस, एवम् आध्यात्मिक ज्ञान प्रवचन हुनेछ ।
झापाको यो कार्यक्रम ऐतिहासिक रुपमा सफल हुने मनोक्रान्ति अभियन्ता गजेन्द्र नेम्वाङले बताए । कार्यक्रममा सहभागी हुन वैशाख २१ गते विकासानन्द झापा आउने र वैशाख २३ गते काठमाडौँ फर्किने समेत उनले जानकारी दिए ।
चिन्ताको विकराल जालोबाट मानिसलाई मुक्त गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । नयाँ जोश र जाँगरका साथ आफ्नो जीवनशैली बदल्न सहयोग पुग्नेछ भन्ने आयोजकको अपेक्षा छ ।
यस्तो छ आयोजक समिति
कार्यक्रम सञ्चालनका लागि ११ सदस्यीय आयोजक समिति गठन गरिएको छ । झापाको अर्जुनधारास्थित कप्तानवारी निवासी रीना थापा (मेहर मगर) को संयोजकत्वमा समिति गठन गरिएको हो । मगर योगी गुरु डा. विकासानन्द तथा कमलेश्वरी गुरुआमाबाट रेकी दीक्षा लिएकी व्यक्तित्व हुन् ।
समितिको सचिवमा विञ्जु मिडियाका प्रवन्ध निर्देशक पत्रकार बिजय बराल छन् । कोषाध्यक्षमा शिक्षासेवी ओम नेम्वाङ र सहसचिवमा डिल्ली नेपाल तथा सह कोषाध्यक्षमा ऋषि धिताल रहेका छन् ।
४२ वर्षदेखि समाज रुपान्तरण अभियानमा लागेका युवा दार्शनिक, नेपाल मनोक्रान्ति योगका द्रष्टा एवम कुशल मोटिभेटर योगी डा. विकासानन्दले जीवनको सार्थकता अनुभूत गर्न सबैलाई प्रेरित गर्ने आयोजक समिति अध्यक्ष मगरले बताइन् ।
कार्यक्रममा पूर्वी नेपालका मनोक्रान्ति समर्थकसहित भारत र भुटानका साधक पनि सहभागी हुनेछन् । कार्यक्रम सम्पन्न गर्न सातलाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सोही अनुसार आर्थिक संकलनको काम अगाडि बढाइएको छ ।
पत्रकार सम्मेलनमा सल्लाहकार जयनारायण ढुंगानाले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रम सूर्योदय टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने जनाइएको छ ।
सहकारी अभियन्ता महेन्द्रकुमार गिरी, सामाजिक अयिभन्ता गजेन्द्र पौडेल, समाजसेवी जलकुमार गुरुङ, रञ्जु प्याकुरेल लगायतलाई सल्लाहकार चयन गरिएको छ ।
सम्मान तथा अभिनन्दन
कार्यक्रममा झापाली नागरिकका तर्फबाट योगी डा. विकासानन्द तथा गुरुआमा कमलेश्वरीलाई ‘नागरिक अभिनन्दन’ गर्ने कार्यक्रम तय भएको छ । शिक्षा, समाजसेवा र पत्रकारितामार्फत समाज रुपान्तरणको अभियानमा सामेल व्यक्तित्वहरु पनि सम्मानित हुनेछन् ।
कार्यक्रममा दुई जना शिक्षासेवी, दुई जना सेवासेवी र दुई जना सञ्चारकर्मीलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको आयोजक समितिका सचिव बरालले जानकारी दिए ।
विशाल र भव्य समारोहका बीच आयोजना हुन लागेको कार्यक्रमको उद्घाटन उपसभामुख इन्दिरा राना मगरले राष्ट्रिय झण्डा फर्फराएर गर्ने कार्यक्रम छ । कार्यक्रममा १० हजार भन्दाबढी नागरिक सहभागी हुने पूर्वानुमान गरिएको छ ।















