१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

बिर्तामोडमा महिलाका लागि खुल्यो ‘प्रियङ्का क्लिनिक’ : चिकित्सा पेशामा एकदशक बिताएकी डा. कटुवाल सेवामा सक्रिय



झापा-चिकित्सा अभ्यासमा एकदशक बिताएकी डाक्टर प्रियङ्का कटुवालले झापाको बिर्तामोडमा आफ्नै लगानी र व्यवस्थापनमा ‘प्रियङ्का क्लिनिक’ सञ्चालनमा ल्याएकी छन् । सोमवारदेखि डा. कटुवालको क्लिनिक औपचारिकरुपमा सञ्चालनमा आएको हो ।

झापाको बीएण्डसी, पूर्वाञ्चल क्यान्सर अस्पताल लगायतका स्वास्थ्य प्रतिष्ठानमा छ वर्ष भन्दाबढी समय काम गरेकी डा. कटुवाल वरिष्ठ स्त्री प्रसुति तथा महिला क्यान्सर रोग विशेषज्ञ हुन् । कटुवाल दम्पत्ति लामो समयदेखि चिकित्सा पेशामा छन् ।

डा. कटुवालका श्रीमान् डा.पुष्पक रेग्मी एनेस्थेसिया हुन् । लामो समय मनमोहन अस्पतालमा काम गरेका डा. रेग्मी अहिले बिर्ता सिटी अस्पतालमा कार्यरत छन् । बिर्तामोड–१ स्थित बिर्तासिटी अस्पताल जाने बाटो पश्चिम महेन्द्र राजमार्गसँग जोडिएको घरमा ‘प्रियङ्का क्लिनिक’ सञ्चालनमा आएको हो ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले संक्षिप्त कार्यक्रमका बीच ‘प्रियङ्का क्लिनिक’ को उद्घाटन गरेकी छन् । उद्घाटनपछि बोल्दै मेयर प्रसाईले महिलाको प्रजनन् स्वास्थ्यका लागि भरपर्दाे स्वास्थ्य प्रतिष्ठानका रुपमा ‘प्रियङ्का क्लिनिक’ ले सेवा दिने अपेक्षा गरेको भन्दै खुशी प्रकट गरिन् ।

‘समस्यामा परेका महिलाले दीगो र भरपर्दाे स्वास्थ्य सेवा पाउँछन् । यस अर्थमा पनि मलाई धेरै खुशी लागेको छ’, मेयर प्रसाईले भनिन्, ‘समयमा क्यान्सरको पहिचानमा पनि यो क्लिनिकले महिलाहरुलाई सघाउनेछ भन्ने आशा छ ।’

डा. कटुवालले प्रजनन् समस्यामा रहेका महिलालाई परामर्श दिँदै स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेको बताइन् । ‘विरामीको जाँच, रोकथाम अनि मात्रै बाँकी उपचार प्रक्रिया सुरु गर्ने गरी अघि बढ्छौँ’, डा. कटुवालले भनिन् ।

महिलाहरुले अहिले पनि आफ्नो रोगभन्दा घरायसी कामलाई महत्व दिइरहेको भन्दै उनीहरुलाई स्वास्थ्य संस्थाको पहुँचमा ल्याउनु पर्नेमा जोड दिइन् ।

‘प्रियङ्का क्लिनिक’ ले पूर्वी नेपालका क्यान्सरपीडित र क्यान्सरको उच्च जोखिममा रहेका महिलाहरुलाई विशेषज्ञ सेवा उपलब्ध गराउनेछ । ल्यावसहित स्थापना भएको ‘प्रियङ्का क्लिनिक’ मा ओपिडी जाँचसँगै फार्मेसी सेवा पनि उपलब्ध छ । विरामीले भिडियो एक्सरे सेवा पनि पाउनेछन् ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार ००:००  १० : ०९ बजे