६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

आत्महत्यामा टुंगियो प्रेमजोडी बिछोडको पीडा : मर्नुअघि प्रेमिकाको सिउँदोमा सिन्दुर



झापा-ससुराली पक्षको असहयोग र मुद्दा मामिलापछि प्रेमिकासँग बिछोडिन बाध्य पारिएका दक्षिणी झापाको कचनकवल गाउँपालिका–४ का राजकुमार गणेशले आत्महत्याको बाटो रोजेका छन् । राजकुमार आफूले मात्र आत्महत्या गरेनन्, विछोड भएकी प्रेमिका पवित्रा राजवंशीलाई पनि एकैसाथ झुण्डिन सहमत गराए ।

मंगलवार बिहान २५ वर्षीय राजकुमार र १८ वर्षीया पवित्रा स्थानीय एभरेस्ट चिया बगानभित्र सिरिसको रुखमा नाइलनको डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

प्रेम विवाह र त्यसबाट भएको शारीरिक तथा मानसिक तनाव, सम्पत्तिमा भएको नोक्सानी लगायतका कारण राजकुमारले आत्महत्याको बाटो रोजिरहँदा उनकी प्रेमिका पवित्राले पनि साथ दिएकी छन् ।

दुबैको हातमा सिन्दुर लागेको भेटिएको स्थानीयले बताएका छन् । झुण्डिनु अगाडि राजकुमारले पवित्राको सिउँदोमा सिन्दुर हालेको देखिएको छ । राजकुमारसँग विछोडिएपछि पवित्राको सिउँदो खाली थियो ।

कथा यसरी सुरु भयो
छिमेकका दुईकेटा र केटी राजकुमार र पवित्राबीच प्रेम सम्वन्ध भयो । तर, जातिय कारण पवित्राको परिवार राजकुमारलाई स्वीकार्न तयार भएन ।

अन्तत परिवारको असहमतिका बीच पवित्राले राजकुमारसँग भाग्ने निधो गरिन् । उनीहरु बीच भागी विवाह पनि भयो । उनीहरु तीन महिनासँगै बसे । अन्तत पवित्राका बाबु भजनलाल राजवंशीले राजकुमारविरुद्ध बालविवाहको मुद्दा हाले ।

राजवंशीको उजुरी लगत्तै प्रहरीले राजकुमारलाई पक्राउ गरेर बालबिवाहको कसुरमा मुद्दा चलायो । अदालतको आदेशमा राजकुमार कारागार चलान भए । पवित्रालाई भने बाबु भजनलालले आफैँसँग लिएर गए ।

छोरालाई छुटाइदिन राजकुमारको परिवारले अनुनय विनय गर्याे । आफ्नो छोरालाई जेलबाट छुटाउन पवित्राका बाबुलाई १४ लाख रुपैयाँ दिएको आमा अन्नावती गणेश बताउँछिन् ।

पैसा दिएपछि राजकुमार जेलबाट छुटे । उनी जेलबाट छुटेको तीन महिना मात्र भएको थियो । त्यसपछि उनी घर नजिकै कुखुरा फर्म खोलेर बसेका थिए । परिवारले तीन लाख रुपैयाँ खर्चिएर कुखुरा फर्म खोलिदिएको थियो ।

लामो समयदेखि पवित्रासँग उनको भेटघाट थिएन । फोन समेत बोक्न छोडेका राजकुमारले पवित्रासँग भेटे लगत्तै आत्महत्याको बाटो रोजेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

झापा प्रहरीका प्रवक्ता डीएसपी बसन्त पाठक घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको बताउँछन् । ‘प्रेम विवाह र त्यसबाट सिर्जित समस्याका कारण उनीहरु आत्महत्या गर्ने तहसम्म पुगेको प्रारम्भिक जानकारी प्रहरीसँग छ’, डीएसपी पाठकले भने ।

कचनकवलमा यसअघि पनि तीनजना किशोरीले एउटै रुखमा झुण्डिएर आत्महत्या गरेका थिए । सात महिनाअघिको उक्त घटना सेलाउन नपाउँदै कचनकवलमा आत्महत्याको अर्काे भयानक घटना दोहोरिएको छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार ००:००  ९ : ५२ बजे