६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

अर्जुनधारा जलेश्वर धाममा शिवरात्रीको अवसर पारेर अनुष्ठान



शनिश्चरे- झापाको अर्जुनधारा जलेश्वर धाममा शिवरात्रीको अवसर पारेर ३९ औं अनुष्ठान आयोजना हुने भएको छ । फागुन १ गतेदेखि ६ गतेसम्म धाममा अनुष्ठान आयोजना गरिएको हो ।

गुरु अग्नि सिग्देलको आचार्यात्वमा ११ जना पण्डित र ३५ जना बटुकद्धारा प्राण प्रतिष्ठा र ‘एक साँझ शिवको माझ’ अन्तरगत भजन सन्ध्या हुने शनिवार आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो ।

बिर्तामोडका कमल र झुमा बस्नेतको लगानीमा धाम परिसरमा निर्माण सम्पन्न भएको माता पार्वती मन्दिर र १०८ शिवलिङ्गकोसमेत उद्घाटन गरिने अनुष्ठान आयोजक समितिले जनाएको छ ।

मन्दिरको प्राण प्रतिष्ठा तथा उद्घाटमा भारतको हिमाञ्चल प्रदेशबाट श्री आदीदेव बाबा बर्फानीजी प्रमुख अतिथिको रुपमा आउने जनाइएको छ । फागनु १ गते उद्घाटनका अवसरमा धामबाट कनकाईमाईमा गएर १०८ घडामा जल लिएर कलश यात्रा तथा मण्डलपूजा, २ गतेदेखि दैनिक प्राण प्रतिष्ठाका साथ रुद्राअभिषेक, सप्तषति पाठ, वेदपाठ हुने जनाइएको छ ।

२ देखि ६ गतेसम्म गंगा आरती, दैनिक भजन कीर्तन, महाराजजीको दर्शनभेट तथा आशीर्वाद प्रवचन, ६ गते मन्दिर उद्घाटन र दाता सम्मान, रात्री चारप्रहर पूजा तथा ख्याती प्राप्त कलाकारहरुबाट ‘एक साँझ शिवको माझ’ भजन सन्ध्या हुनेछ ।

अनुष्ठानको अवसरमा साहित्य चौतारीका मानार्थ सल्लाहकार जीवन अधिकारीसहितको टोलीले आफ्नो प्रस्तुति राख्नेछ ।
अनुष्ठानमा हुने सांस्कृतिक भजन कार्यक्रमका लागि साहित्य चौतारी झापाका संस्थापक देबीभक्त श्रेष्ठको संयोजकत्वमा समिति निर्माण भएको छ ।

समितिको सह–संयोजकमा साहित्य चौतारी झापाका अध्यक्ष हस्त परियार, सचिवमा कृष्ण पौडेल, सह–सचिवमा भवानीप्रसाद पौडेल र सदस्यमा भानु शिवाकोटी, रमेश त्रिखत्री, मणि वर्देवा, पोष्टराज कट्टेल र उर्मिला दाहाल छन् । त्यस्तै संगीत संयोजकमा दीपक रायमाझी रहेको संयोजक श्रेष्ठले जानकारी दिए ।

पत्रकार भेटघाट कार्यक्रममा अर्जुनधारा जलेश्वर धामका महासचिव शिवलाल खतिवडा, कोषाध्यक्ष मोहन जोशीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

अनुष्ठान सम्पन्न गर्न अनुमानित तीन लाख रुपैयाँ खर्च हुने धामका कोषाध्यक्ष खतिवडाले बताए । अनुष्ठानमा ५० हजारबढी भक्तजनको आगमन रहने आयोजक समितिले अनुमान गरेको छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार ००:००  ९ : २३ बजे