६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

काँकडभिट्टामा सांगीतिक रमझमका बीच होटल हिकोला हेरिटेजको वार्षिकोत्सव मनाइँदै



काँकडभिट्टा- झापाको सीमान्त सहर काँकडभिट्टामा स्थापना भएको होटल हिकोला हेरिटेजले तेस्रो वर्ष पूरा गरेको अवसरमा विभिन्न सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । होटल व्यवस्थापनले आज काँकडभिट्टामा पत्रकार सम्मलेन गरी माघ २६ देखि २८ सम्म विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको हो ।

होटल हिकोला हेरिटेजका प्रवन्ध निर्देशक देवीभक्त श्रेष्ठले तीन दिनसम्म होटलको वार्षिकोत्सव मनाइने बताए । २०७६ साल माघ २६ गते प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले होटल हिकोला हेरिटेजको उद्घाटन गरेका थिए ।

तेस्रो वर्ष पूरा भएको उपलक्ष्यमा माघ २६ गते साँझ गायक यम बरालको एकल प्रस्तुति राखिएको छ । माघ २७ गते गायक नाम्गेल तामाङ र कृपा पौडेलको सांगीतिक प्रस्तुति छ भने माघ २८ गते गजलकार प्रदीप रोदनको एकल गजल बाचन कार्यक्रम रहेको छ ।

होटल स्थापनाको दिन नेपाल भित्रिने पर्यटकलाई सीमा नाकामा पुगेर हार्दिकतापूर्वक स्वागत गर्ने कार्यक्रम राखिएको होटलका प्रवन्धक गौरव श्रेष्ठले बताए । कार्यक्रममा जातिय संस्कृति झल्किने सांस्कृतिक नृत्य पनि समावेश गरिएको छ ।

साहित्य, संगीत र कलाको संगम साहित्य चौतारीका कलाकर्मीले पनि आफ्नो प्रस्तुति राख्ने मासिक सांगीतिक काव्यसभाकी संयोजन सुनिता तामाङले बताइन् । पत्रकार सम्मेलनको सहजीकरण गरेकी तामाङले युवा वर्गको सहभागितामा पर्यटन प्रर्वद्धनका लागि रचनात्मक कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको जानकारी दिइन् ।

सीमावर्ती काँकडभिट्टा नाकाबाट पैदलमार्ग हुँदै नेपाल भित्रिने पर्यटकको सुविधालाई ध्यानमा राखेर स्थापना भएको होटल हिकोला हेरिटेजले आगन्तुक, अतिथि पाहुनाबाट पाइरहेको माया, सद्भाव र हौसलाप्रति आभार पनि व्यक्त गरेको छ ।

‘फोटोग्राफीको क्षेत्रमा हिजो हिकोला कलर ल्याव जसरी स्थापित भएको थियो, आज त्यसैको एउटा गौरवका रुपमा हामीले होटल व्यवसायलाई हिकोला हेरिटेजका नाममा अगाडि बढाउने जमर्काे गरेका छौँ’, पत्रकार सम्मेलनमा प्रवन्ध निर्देशक श्रेष्ठले भने ।

मेचीनगरको काँकडभिट्टामा लाखौँ रुपैयाँको लगानीमा होटल हिकोला हेरिटेज स्थापना भएको केही समयमा कोरोना संक्रमण सुरु भएको थियो । छिमेकी मित्रराष्ट्र भारत लगायतका मुलुकबाट पर्यटक आगमनदर शून्य हुँदा पनि व्यवसायलाई टिकाइराखेको उनले बताए ।

‘पाहुनाको खुशी हाम्रो व्यवसायिक जीवनको पहिलो र महत्वपूर्ण आधार हो । यो सत्यलाई स्वीकार्दै हामीले हाम्रो सेवालाई अझै परिस्कृत र प्रभावकारी बनाउँदै लैजाने अठोट पनि लिएका छौँ’, प्रवन्ध निर्देशक श्रेष्ठले भने, ‘पर्यटन प्रवद्र्धनको अभियानमा जोडिएर आएका सरोकारवाला सबै निकायको समन्वय र सहयोगप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ ।’

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार ००:००  ६ : ४७ बजे